हाम्रो बारेमा

कानूनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) सन् १९८७ मा स्थापना भएको एक गैर सरकारी संस्था हो । यस संस्थाले स्थापनाकाल देखि नै निरन्तर रुपमा महिला तथा बालबालिकाको न्यायमा पहुँच अभिवृद्धि, महिला सशक्तिकरण, नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ ।

यस संस्थाका संस्थापक अध्यक्ष प्रा.डा. शान्ता थपलियाले आफ्नो विद्यावारिधिको शोधपत्र तयार गर्ने क्रममा नेपालका धेरै गाउँबस्ती जाने क्रममा महिलाले भोग्दै आएका लैंगिक हिंसा, यौनिक हिंसा, विभेद, चेतना अभाव र विभेदकारी कानूनको कारणले न्यायमा पहुँचको कहालिलाग्दो अवस्थाको प्रत्यक्ष साक्षी बन्न पुग्नु भएकोले त्यस्ता महिला तथा महिला संगसंगै पीडित हुन पुगेका बालबालिकाको न्यायमा पहुँच अभिवृद्धि गर्ने उदेश्यले यस संस्थाको स्थापना भएको थियो । तत्कालिन समयमा महिलाहरु हिंसा सहेर घरभित्रै बस्न बाध्य भएका र त्यसको विरुद्ध आवाज उठाउन नसकेका कारण उनीहरुको न्यायमा पहुँच पुर्याउन अति जरुरी महशुस गरेर कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याकको स्थापना सन् १९८७ मा प्रा.डा. शान्ता थपलियाको नेतृत्वमा भएको थियो । महिलामाथि गरीएको विभेदपूर्ण व्यवहार, सबै प्रकारका हिंसा विरुद्ध आवाज उठाउने, महिलाको नेतृत्व विकास गर्ने तथा महिलाहरुको न्यायमा पहुँच सजिलै पुग्न सकोस् भन्ने उदेश्यका साथ यस संस्थाको स्थापना भएको हो । शुरुवाती दिनमा देशको राजनीति अवस्थालाइ मध्यनजर गर्दै संस्था मार्फत् अनौपचारिक रुपमा सेवा प्रदान गर्दै आउनुभएको र २०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा प्रजातन्त्रको स्थापनासंगै औपचारिक रुपममा संचालक समिति गठन गरेर विधिवत् संस्था दर्ता गरी प्राध्यापक डाक्टर शान्ता थपलियाको निवासको तल्लो तलामा यस संस्थाको स्थापना भएको थियो । समाजमा रहेका सबै वर्गको समान अधिकारको कुरा उठिरहेको अवस्थामा संयुक्त राष्ट्रसंघबाट महिला माथि हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि (CEDAW) पारित भएको कारणले पनि महिलामाथि हुने हिंसा र महिला अधिकारका विषयमा आवाज उठिरहेको समयमा नेपालमा प्रजातान्त्रिक वातावरणमा धेरै नेपाली जनताहरुको विभिन्न सेवामा मानवअधिकार तथा विकासमूलक कार्यक्रम माग गर्न थाले ।

महिलाहरुलाइ कानुनी जागरण नभएको कारणले नै महिलाहरु आफ्नो अधिकारको विषयमा अनभिज्ञ भएका हुनाले र हिंसा तथा अन्यायमा पर्नुको मूलकारण पनि यही हो भन्ने ठानी उनीहरुलाइ कानूनी जागरण गर्नुपर्दछ भन्ने सोच राखी विभिन्न जिल्लामा कानूनी जागरण अभियानको थालनी गरीयो । सुरुमा ग्लोबल फन्ड को सानो परियोजनाबाट नेपालगंज र झापामा कानूनी जागरण कार्यक्रम सुरु भयो । साथै केही कानून व्यवसायीहरु नियुक्त गरी त्यस समयमा निवेदन लेख्ने, लिखित लेख्ने लगायतका सम्पूर्ण कार्य हालतले नै गर्ने गरीन्थ्यो, टाइपराइटर समेत पनि थिएन । समयको परिवर्तसंग ल्याकले हाल देशका साठी वटा भन्दा जिल्ला विभिन्न समयमा विभिन्न परियोजना तथा कार्यक्रम मार्फत सेवा पुर्याउन सफल भएको छ । संस्थाले मानभवन ललितपुर स्थित सुविधा सम्पन्न, कम्प्युटर, ल्यापटप, प्रिन्टर, तालिम प्राप्त दक्ष कर्मचारी, कानून व्यवसायीबाट आफनै भवनबाट सेवा दिदै आएको छ । संस्थामार्फत असहाय गरीब महिलाहरुले निशुल्क कानूनी सहयोग तथा परामर्श पाइ न्यायमा पहुँच र अधिकारहरुको संरक्षण गर्न मदत पुगेको छ ।

परिलक्ष्य

कानूनको शासन र भेदभावरहित समाज निर्माण गर्न र मानव अधिकारको संरक्षण तथा न्याय, सशक्तिकरण र समावेशीतमा पहुँच प्रवर्द्धन गरी महिला, बालबालिका, अपाङगता भएका व्यक्तिहरुको साथै लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको अधिकार र मर्यादा कायम गर्न योगदान गर्ने । 

दूरदृष्टि

समतामूलक एवं न्यायपूर्ण समाजको निर्माण गर्ने

लक्ष्य

सीमान्तकृत समुदायका महिला, बालबालिका, अपाङगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सम्मानजनक जीवन सुनिश्चित गरी मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन गर्ने 

मूल्य मान्यता र सिद्धान्तहरु

सुशासन
सामाजिक सेवा उन्मुख र स्वैच्छिकता
सहभागितामूलक एवं साझा नेतृत्व
व्यावसायिक प्रतिबद्धता
लोकतान्त्रिक
विकेन्द्रीकृत दृष्टिकोण
साझेदारी, सहयोग र समन्वय
निरपेक्षता
मानव मर्यादाको लागि सम्मान
अधिकारमा आधारित प्रतिबद्धता
निष्ठा एवं नैतिकता
लैङ्गिक समानता र सामाजिक समावेशीकरण
नवीन र विकास मानसिकता दृष्टिकोण

उदेश्यहरु

महिला तथा बालबालिकाको हकहित संरक्षण गर्नको निम्ति निशुल्क कानुनी सहयोग सल्लाह र परामर्श दिने तथा निशुल्क कानुनी शिक्षा प्रदान गर्न पहल गर्ने
महिला तथा बालबालिकाहरुको सेवा तथा सुविधालाइ ध्यानमा राखी स्वास्थ्य एवं एकिकृत विकास योजनाहरु संचालन गर्नु
महिला तथा बालबालिकाहरुको सामाजिक तथा आर्थिकस्तर अझ राम्रो पार्नको लागि आवश्यक अध्ययन अनुसन्धान गर्नु, कानुनी तालिम गराउनु
कानूनी महिला विद्यार्थीको आत्मा बल बढाइ व्यवसायिक क्षेत्रमा लाग्ने प्रोत्साहित हुने खालको प्रशिक्षणहरु गर्ने
कानुनी पुस्तक प्रकाशन गर्ने/गराउने
सर्वसाधरणलाइ कानुनी जागरण गराउने उदेश्यले कानुनी साक्षरता, कानुनी जागरण सचेतना, तालिम, गोष्ठी, परिसम्वाद, कार्यशाला गोष्ठी, छलफल कार्यक्रम तथा लैंगिक समानता सम्बन्धी कार्यक्रम संचालन गर्ने/गराउने
बेइजिङ कार्य योजनाले औंल्याएका बाहंवटा महिला (महिला तथा गरीबी, शिक्षा, स्वास्थ्य, सशस्त्र संघर्ष, अर्थतन्त्र संचार, वातावरण, महिला विरुद्धको हिंसा, महिला विकासको लागि संस्थागत संरचना, शक्ति संरचना र निर्णय तहमा नेपाली महिला र मानव अधिकार तथा बालिका सरोकारका क्षेत्रहरु विषयमा कार्य गर्ने/गराउने
पीडित महिला तथा बालबालिकाको हितको निम्ति आयमूलक कार्य गर्ने/गराउने, तथा आवश्यकता अनुसार संकटकालिन वा दीर्घकालिन आवास गृहरु संचालन गर्ने/गराउने